काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो । भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठक बोलाएका हुन् ।
सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा उम्मेवार रहेकी नेकपा (माओवादी केन्द्र) की नेतृ चम्पा कार्कीले निर्वाचन हारेकी थिईन् । कांग्रेसका जनप्रतिनिधिहरुले कार्कीलाई हराएका भन्दै माओवादी नेताहरुले गठबन्धन दलभित्र गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै आएका छन् ।