मन्त्रीले भीडसँग विवाद नगरेको भए बालकुमारीमा यति ठूलो क्षति हुने थिएनः प्रहरी महानिरीक्षक कुँवर



काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले बालकुमारी घटनामा त्यति ठूलो मानवीय तथा भौतिक क्षति हुनुका पछाडि प्रहरीमात्रै दोषी नभएको बताएका छन् ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महानिरीक्षक कुँवरले आक्रोसित भीडले प्रदर्शन गरिरहेका बेला मन्त्रीको सवारी हुनु र मन्त्रीले भीडसँग विवाद गर्नुले परिस्थिति असहज बनेको बताएका हुन् । उनले प्रहरीसँग सीमित श्रोत साधन र जनशक्ति भएका कारण भीड नियन्त्रणमा समस्या भएको बताए ।


उनले भने, ‘युवाहरू प्रदर्शनमा रहेको बेला नै मन्त्रीको सवारी हुँदा समस्या भयो । मन्त्रीज्यू हिँड्दाखेरि पीएसओले जानकारी लिएर रुट क्लियर छ कि छैन भन्ने कुराको समन्वय हुनुपर्ने थियो । भीडमा आएर गाडी रोकिएपछि मन्त्रीसँग सामान्य विवाद पनि भयो । त्यसकारण पनि समस्या भयो, नभए यति ठूलो क्षति हुने थिएन ।’

उनका अनुसार भीड नियन्त्रणकालागि प्रहरीले अश्रुग्याँस १२४ सेल, रबर बुलेट र हवाइ फायर गरेको थियो । उपयुक्त समयमा प्रहरी र पीएसओबीच संचार समन्वय नभएको र भीडमा परेपछि प्रहरीले पनि धैर्यता गुमाएको अवस्था देखिएको कुँवरले बताए ।

उनले भने, ‘प्रदर्शनकारीहरुको नेतृत्व कोही थिएन, अराजक रूपमा जसले जे पायो, त्यही गर्ने अवस्था थियो, झन् ठूलो क्षति नहोस् भनेर नै प्रहरीले पूर्वसतर्कता अपनाएर गोली चलाउन बाध्य भएको स्थिति देखिन्छ ।’ भीडमा कति बेला गोली चल्यो र कतिबेला घाइते भएको भन्ने यकिन हुन नसकेको कुँवरले बताए ।