मन्त्रिपरिषद बैठक सिंहदरबारमा जारी, बालकुमारी घटनामा छानबिन आयोग गठनको तयारी



काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको गोलिकाण्ड घटनामा उच्चस्तरीय छानबिन आयोग गठनको निर्णय गर्ने बुझिएको छ ।

यस घटनामा पूर्वन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले हिजो गठबन्धन दलको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका थिए ।


बालकुमारी घटनामा दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र साहको मृत्यु भएको थियो । सरकारले मृतक परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ राहत दिने यसअघि नै निर्णय गरिसकेको छ ।

यसअघि घटना भएकै दिन घटनासम्बन्धी छानबिनका लागि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणि आचार्यको संयोजकत्वमा समिति गठन भएको थियो ।