बालकुमारी घटना : श्रम र यातायात मन्त्रीमाथि छानबिन गर्न निर्देशन



काठमाडौं । बालकुमारी घटनाका सन्दर्भमा संसदीय समितिले सरकारका २ जना मन्त्रीमाथि छानबिन गर्न निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालामाथि छानविन गर्न निर्देशन दिएको हो ।


बैठकपछि निर्णय सुनाउँदै समितिका सभापति रामहरि खतिवडाले श्रम मन्त्री र यातायात मन्त्रीको भूमिकामाथि छानविन गर्न निर्देशन दिएको बताए ।

त्यस्तै समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका विरेन्द्र शाह र सुजन रावतका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको उनले बताए ।

समितिले घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिएको छ ।

खतिवडाले समितिले निर्णय सुनाउँदै भने– ‘यस प्रकारको घटना अब आइन्दा नहोस् भनी सम्बन्धित सबै पक्ष सजग रहन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिने ।’