बालकुमारी घटनामा गल्ती गर्नेहरू दण्डित हुनुपर्छः माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बालकुमारी घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्ने बताए ।

सोमबार दिउँसो ४८ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले बालकुमारी घटनामा पार्टीका मन्त्री प्रकाश ज्वालाको गल्ती नरहेको बताए ।


पार्टीका उपमहासचिव समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बैठकबाट निस्किएर सिंहदरबार जाने क्रममा प्रदर्शन भइरहेको स्थानमा फस्न पुगेको बताए । त्यसमा मन्त्रीका पिएसओ र सुरक्षा अधिकारीबीच संवादको ‘ग्याप’ हुन पुगेको उनको भनाइ छ ।

उनले भने, ‘बालकुमारीमा हाम्रो केन्द्रीय कमिटीको बैठक बसिरहेको थियो । ठाउँ कता त थाहा छैन मलाई, आमुन्नेसामुन्ने छ श्रम मन्त्रालयअन्तर्गतको इपिएस कार्यालय । त्यो पश्चिमतिर थियो । हाम्रो बैठक बसिरहेको थियो पूर्वतिर । हामी त बैठकमा पूरै व्यस्त थियौं, थाहा भएन । उहाँ सरकारी कामको सिलसिलामा बाहिर निस्कनुभएछ। त्यही क्रममा फस्नुभएको हो। अरू कुनै सिलसिलामा होइन ।’

संवादको सूचनाको ग्याप रहन पुगेकाले घटना भएको उनले बताए । उनले भने, ‘यसलाई अन्यथा कसैले लिनुहुँदैन। हाम्रो पार्टी यसमा अत्यन्तै गम्भीर छ । यस सवालमा सरकार अत्यन्तै गम्भीर हुनुपर्छ । सरकारले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ । घटनामा जहाँबाट गल्ती भएको छ, उनीहरू दण्डित हुनुपर्छ ।’

अध्यक्ष नेपालले सबैलाई चिन्ता देशको भएको भन्दै यो चिन्ताबाटै हामी कसरी अघि बढेन भनेर मन्थन गर्न चाहिरहेको बताए ।