धाराबाट पानी पिउँदै प्रधानमन्त्रीद्वारा मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ



काठमाडौं । काठमाडौं उपत्यका सोमबारदेखि मेलम्चीको पानी चौथो पटक वितरण सुरु गरिरएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनःवितरणको सिंहदरबार परिसरबाट शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत रहेको बताए । उनले अब मेलम्चीको पानी नियमित रुपमा उपभोक्ताको धारामा झर्ने प्रबन्ध मिलाउने बताए ।


उनले भने,‘काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन सरकार प्रयासरत छ । हाल आयोजनाको हेडवक्र्सको निर्माणको कार्य यथाशीघ्र सम्पन्न गरी दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइनेछ ।’ प्रधानमन्त्री दाहालले अर्को वर्षदेखि २४ सैँ घण्टा पानी आउने गरी निर्माण र व्यवस्थापन गर्न मन्त्रालय र आयोजना प्रमुखलाई निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले खानेपानीको दीगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाईभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाई अगाडि बढाइने जानकारी गराए ।

काठमाडौंका उपभोक्ताको धारमा सोमबार बिहान आठ बजेदेखि नै मेलम्चीको पानी छोडिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौंका सबै क्षेत्रमा वितरण गरिने आचार्यले जानकारी दिए ।