काठमाडौं । दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका-६ घर भई हाल काठमाडौंकाे सिफल ४२ वर्षीय ललन कुमार राय रहेको प्रहरीले जनाएको छ ।
रायलेले पन्चान्द राय समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति २ लाख २० हजार रुपैयाँ लाग्छ र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ७० हजार रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ७ लाख २० हजार रुपैयाँ लिई ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले रायको खोजतलास गर्ने क्रममा बुधबार काठमाडौंस्थित भत्केको पुलबाट पक्राउ परेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।