दरबार हत्याकाण्डमा हाम्रो परिवारलाई जोडेर घातक प्रहार गरियो : पूर्वराजा शाह



काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा नेपालीको मनमा भ्रम फैलाइएको बताएका छन् । वीरगन्जमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले दरबार हत्याकाण्डबारे आफू र आफ्नो परिवारलाई घातक प्रहार गरिएको बताएका हुन् ।

उनले भनेका छन्, ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ । तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ । जेठ,१९,२०५८ मा घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए । सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन । हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदा हुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’


उनले बितेका १५ वर्ष पछि आज त्यो असन्तोष, चासो, चिन्ता, आक्रोश सर्वत्र छताछुल्ल भएको पनि बताए ।