त्रिविको उपकुलपति पदमा १६ जनाको आवेदन, भोलिसम्म म्याद



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा हालसम्म १६ जनाको आवेदन परेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईको अध्यक्षतामा बनेको उपकुलपति सिफारिस समितिमा आइतबारसम्म १६ जनाको आवेदन परेको हो ।

आवेदन दिने समय सोमबारसम्मका लागि तोकिएको छ । भोलिसम्म केही थप व्यक्तिहरूले समेत आवेदन दिने अपेक्षा गरिएको छ ।


उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएपछि शिवलाल भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको छ । उनी समेत उपकुलपतिको रेसमा छन् । भिसीका लागि अन्य प्राध्यापकहरूले समेत तयारी गरेका छन् । 

उपकुलपति नियुक्तिका लागि पहिलोपटकको दरखास्त आह्वानमा विरोध भएपछि २३ पुसमा दोस्रो पटक सूचना निकालेको थियो । पहिलो पटक २० पुसमा सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि आलोचना भएको थियो ।

त्यसपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति प्रचण्डले उक्त प्रावधान हटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि समितिले पहिलो पटक प्रकाशन गरेको विज्ञापन रद्द गरी दोस्रो पटक सूचना निकालेको थियो ।