टोली नेताको धारणापछि निष्कर्ष सुनाएर एकीकृत समाजवादीको बैठक सकिँदै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय परिषद्को बैठक आज पनि बस्दैछ । आइतबारबाट जारी बैठकमा विधानमाथि छलफल केन्द्रित रहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा पार्टी विधान संशोधनको मस्यौदामाथि समूह छलफल जारी छ ।

परिषद् बैठकमा करिब एकहजार जना प्रतिनिधि सहभागी छन् । केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन संगठनका पदाधिकारीका अलावा संघीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी रहेका छन् ।


सचिवालय सदस्य तुलबहादुर गुरूङका अनुसार दसवटा समूह बनाएर जलफल जारी रहेको र आजै साँझ बैठक सकिने छ । बैठक अहिले ११ बजेबाट सुरु हुँदैछ । बैठक सुरु हुनेलगत्तै सबै टोली नेताले समूहको सुझाव प्रस्तुत गर्ने तालिका रहेको छ । त्यसलाई समावेश गरेर आजै साँझ निष्कर्ष सुनाउने कार्यक्रम रहेको सचिवालय सदस्य गुरुङले बताए ।

समूहबाट आएका सुझाव टिपोट गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा कमिटी बनाइएको छ । एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ ।

बैठकमा सचिवालय सदस्यहरूले केन्द्रीय कमिटीको आकार घटाउनुपर्ने बताउँदै आएका छन् । त्यस्तै, पार्टीको कार्यकारी कमिटीमा उमेरहदको व्यवस्था गर्नुनपर्ने, युवादेखि वृद्धसम्मलाई प्रतिशत छुट्टयाएर प्रतिनिधित्व गराइनुपर्ने राय राखेका थिए । त्यस्तै केन्द्रीय कमिटी र आयोगका सदस्यहरू भूगोलबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने धारणा पनि सचिवालय सदस्यहरूले राखेका छन् ।

एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । यो परिषद बैठकमार्फत विधानमाथि छलफल गरिएको हो ।