चुनाव हारेकालाई राष्ट्रियसभा पठाउनु व्यवस्था विरोधी काम : सभापति लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्ध काम गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा पार्टीको एक वर्षको गतिविधि सार्वजनिकीकरण कार्यक्रममा सभापति लामिछानले चूनावमा पराजित भएकालाई चोरबाटोबाट राष्ट्रियसभामा ल्याउनका लागि ठूला भनिएका दलहरुले संविधान र व्यवस्थाविरुद्धको काम गरेको आरोप लगाएका छन् ।

शासन सत्तालाई आफ्नो मुठ्ठीमा राखेर गठबन्धन दलहरुले राष्ट्रपतिबाट चयन हुने राष्ट्रियसभा सदस्यमा पनि चुनाव हारेकालाई नै पठाउन खोजेको उनले बताए । सभापति लामिछानेले अहिलेको व्यवस्थामाथि खतरा र परिवर्तनमाथि प्रहार सत्तारुढ दलले नै गरेको आरोप लगाए । उाले ठूलाठूला फाइल खोलेपनि सरकारले आफ्ना मान्छेलाई जोगाउनका लागि फाइल नै बन्द गरेको जिकिर गरे ।


राजनीतिलाई सहि ठाँउमा ल्याउन योग्य इमान्दार युवाहरुलाई स्थान दिनुपर्ने उनको तर्क छ । उनले पार्टीका २१ जना सांसदले मुलुकका २१ वटा आयोजनाहरुमा पैदलयात्रा गर्ने जानकारी दिए ।

उनले २१ जना सांसदको भागमा एउटा–एउटा आयोजना दिइने र ती अधुरो हुनुको कारण खोजेर सरकारलाई समाधान पत्र सरकारलाई बुझाउने बताए । देशमा एउटा बाटो बन्न एउटा पुस्ताले कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै उनले सबैको साथ हुने हो भने सदनलाई जनताको सदन बनाउने उनले बताए ।