कोलम्बियामा डडेलोका कारण १७ हजार हेक्टरभन्दा बढी जङ्गली क्षेत्रमा क्षति



कोलम्बियाको जङ्गलमा लागेको डढेलोका कारण नोभेम्बरयता १७ हजार हेक्टरभन्दा बढी जमिन जलेर नष्ट भएको अधिकारीहरूले  बताएका छन् ।

लामो समयदेखिको खडेरी, उच्च गर्मी र एल निनो मौसमी घटनाका कारण यो बर्ष ३४० भन्दा बढी डढेलोका घटना रेकर्ड गरिएको वातावरणमन्त्री सुसाना मोहम्मदले जानकारी दिए ।


कोलम्बियाले सोमबारदेखि राजधानी नजिकै धेरै डढेलोको सामना गर्नुपरेको छ । राजधानी बोगोटाबाट देखिने पहाडहरूमा अधिकारीहरूले जलेको क्षेत्रनजिक बस्ने बासिन्दाहरूलाई खराब वायु गुणस्तरको कारण अतिआवश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।

“आज बोगोटाबाट करिब २५० किलोमिटर उत्तरपूर्वमा हिउँले ढाकिएको चुचुरो भएको प्राकृतिक पार्क नेभाडा डेल कोकुईमा आगो लागेको छ,” मोहम्मदले पत्रकार सम्मेलनमा भने । उनले पार्कमा आगोको ज्वाला ‘निकै उच्च’ स्थानमा रहेकाले स्थितिको आँकलन गर्न हेलिकप्टर परिचालन गरिएको बताए ।