इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था



फिक्कल (इलाम)। इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा सिँचाइका निम्ति कूलो निर्माण गरिएका हुन् ।

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए ।


कुलो निर्माण भएपछि एक सय ३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताए ।

स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो ।

पाटीगाउँमा रु ४८ लाख, लम्फेवा खोलाबाट रु ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा रु ५३ र माङसेबुङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा रु ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो । कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो ।