बीबीसी । पश्चिम इराकस्थित एउटा हवाई शिविरमा भएका क्षेप्यास्त्र हमलामा कैयौँ अमेरिकी सैनिक घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाका अनुसार कैयौँ बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रहार गरिएका थिए जसमध्ये कतिपयलाई हवाई प्रतिरक्षामार्फत विफल बनाइएको थियो।
कतिपय अरू अल असद शिविरमा खसेका थिए । कम्तीमा एक जना इराकी कर्मचारी घाइते भएको र केही अमेरिकी सैनिकहरूलाई मस्तिष्कमा चोट लागे या नलागेको भनेर जाँच भइरहेको जनाइएको छ ।
गाजा युद्ध सुरु भएयता इराकमा रहेका अमेरिकी फौजमाथि इरानसँग सम्बन्ध भएका लडाकूहरूले आक्रमण गर्ने क्रम बढेको छ । अमेरिकी सेनाको मध्य कमान्डले अमेरिकी फौजहरू बस्दै आएको अल असद हवाई बेसलाई इरान समर्थित लडाकूहरूले बलिस्टिक क्षेप्यास्त्र र रकेटहरू प्रयोग गरी शनिबार साँझ आक्रमण गरेको जनाएको छ । सङ्ख्या नखुलाइएको भएपनि केही अमेरिकी सैनिकहरूले ‘आघात पुर्याउनसक्ने मस्तिष्कको चोटका लागि जाँच गराइरहेको’ भनिएको छ ।
उक्त हमलाको जिम्मेवारी आफूलाई इस्लामिक रेजिस्टन्स इन इराक भनेर चिनाउने समूहले लिएको छ । अमेरिकास्थित वासिङ्टन इन्स्टिट्यूट फर निअर इस्ट पोलीसीका अनुसार उक्त समूह सन् २०२३ को अन्त्यतिर देखापरेको थियो र त्यसमा इराकमा सञ्चालित कैयौँ इरानसँग आबद्ध रहेका सशस्त्र समूहहरू छन् । इरानी सेनाले हालैका दिनमा सिरिया, इरान र पाकिस्तानमा कैयौँ आक्रमणहरू गरेको छ ।