बीबीसी । अमेरिकामा एक कैदीलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइने भएको छ । अमेरिकाको सर्वोच्च अदालतले एलाबामा राज्यमा एक कैदीले उनलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको छ ।
केनेथ युजिन स्मिथका वकिलहरूले त्यसलाई ‘क्रूर र अस्वाभाविक’ सजाय भन्दै रोक्न गरेको निवेदन न्यायाधीशहरूले दुई पटक अस्वीकार गरिसकेका छन् । विपक्षीहरूले नाइट्रोजन ग्यासले अनावश्यक यातना हुने र यदि त्यो चुहिएमा छेउछाउमा उपस्थित मानिसहरूलाई हानि पुग्ने तर्क गर्दै आएका छन् । ५८ वर्षीय स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको छ ।
उनलाई एलाबामा राज्यले तोकेको मृत्युदण्डको अवधि स्थानीय समयानुसार शुक्रबार सकिने छ । सन् १९९६ देखि मृत्युदण्ड कुरिरहेका स्मिथले यो साता बीबीसीलाई उक्त पर्खाइ यातनापूर्ण भएको बताएका थिए । अमेरिकामा मात्र नभई संसारभरिमै नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिन लागिएको यो पहिलो घटना हो । मिसावटरहित नाइट्रोजन सुँघ्दा शरीरका कोशहरू क्षतिग्रस्त हुन्छन् र मानिसको मृत्यु हुन्छ ।
एलाबामाका अधिकारीहरूका अनुसार नाइट्रोजन सुँघाइएको केही सेकेन्डमै स्मिथले होस गुमाउने अनि केही मिनेटमा उनको मृत्यु हुनेछ । तर केही मेडिकल विज्ञहरूले नाइट्रोजन प्रयोगको भर्त्सना गर्दै त्यसले अकल्पनीय दुर्घटना हुन सक्ने, शरीर निकै छटपटाउने वा दण्ड दिइने व्यक्ति पूर्ण पक्षाघातको अवस्थामा जीवित रहने चेतावनी दिएका छन् ।
एलाबामा तथा अन्य दुई अमेरिकी राज्यहरूले मृत्युदण्डका निम्ति नाइट्रोजन हाइपोक्सिया विधिलाई विकल्पको रूपमा स्वीकारेका छन् । किनभने परम्परागत रूपमा दिइने घातक सुईहरू अचेल पाउन निकै गाह्रो छ। यसले पनि मृत्युदण्ड कार्यान्वयनका घटना देशैभरि कम भइरहेको छ।