काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनबारे सोमबार सिंहदरबारमा विकास साझेदारसँग छलफल गर्दै अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको र लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको बताएका हुन् ।
उनले ठूलामात्रै नभई साना तथा मझौला उद्यममा पनि लगानी गर्न सकिने भन्दै नेपालमा लगानीका लागि धेरै सम्भावनाका क्षेत्र रहेको जानकारी गराए । नेपालमा जलविद्युत्, पर्यटन, सूचनाप्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको उनको भनाइ थियो ।
नेपालमा लगानीको वातावरणबारे सुझाव दिने र आवश्यक सुधार गर्दै अघि बढ्ने उनले बताए । मन्त्री महतले सम्पत्ती शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसद्बाट चाँडै पारित हुने र लगानी सम्मेलन अघि नै कन्ट्री रेटिङको काम सक्ने दावी गरे ।
आगामी वैशाख ९ र १० गते काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन गर्ने सरकारले निर्णय गरिसकेको छ । सम्मेलन आयोजना गर्न अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ ।