संक्रमणकालीन न्यायलाई सहमतिमै टुंग्याउन शीर्ष नेताको जोड, सोमबार पुनः छलफल



काठमाडौं । संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।


प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार उनीहरूबीच संक्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल भएको हो । सोमबार पुनः बैठक बस्ने सहमति भएको उनले जानकारी दिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसदमा विचाराधीन अवस्थामा छ ।

उच्च राजनीतिक तहमा सहमति जुटाएर सो विधेयक आगामी संघीय संसद्को बैठकमा पारित गर्ने तयारी गरिएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने तयारी गरिरहेको छ ।