अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।
शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको रु ४७ करोड वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।
प्राधिकरणले विद्युत महसुल नतिर्ने उद्योगहरुको लाइन काट्न अघिल्लो साता देखि शुरु गरेको हो ।
यसअघि प्राधिकरणले विद्युत महसुलको बक्यौता नतिरेको भन्दै लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको पनि बिजुली काटेको थियो ।
प्राधिकरणका अनुसार लक्ष्मी स्टिलले विद्युत महसुल वापतको ६२ करोड रुपैयाँ तिर्न बाँकी छ भने सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । त्यस्तै जगदम्बा सिमेन्टले ४ अर्ब १४ करोड, रिलायन्सले १ अर्ब ९४ करोड, घोराहीले १ अर्ब ३६ करोड र अर्घाखाँचीले १ अर्ब ३० करोड तिर्न बाँकी रहेको छ ।