धनगढी । रुस युक्रेनबीचको युद्धमा रुसका तर्फबाट लडिरहेका कैलालीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ दुर्गानगरका ३६ वर्षीय भरत शाह रहेका छन् । उनको युक्रेन र रुसको सीमा क्षेत्रमा मृत्यु भएको हो। उनको मृत्यु नोभेम्बर २० मा भएपनि परिवारले भने शुक्रवार मात्र खबर पाएका थिए ।
गोली लागेर घाइते भएका शाहको समयमा उपचार नपाउँदा मृत्यु भएको उनीसँगै रुसी सेनामा कार्यरत कञ्चनपुरका युवाले शुक्रबार शाहको परिवारलाई खबर गरेर जानकारी गराएको परिवारका सदस्य मंगल शाहले बताए ।
मंगलका अनुसार दुबइको रोयल गार्डका रुपमा कार्यरत शाह तीन महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ना भएका थिए । रुसी सेनाले भने शाहको परिवारलाई आधिकारिक रुपमा यसको जानकारी गराएको छैन ।
यसअघि रुसी सेनामा कार्यरत ६ नेपाली नागरिकको मृत्यु भइसकेको छ । परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ । अहिले पनि दुई सय भन्दाबढी नेपाली रुसी सेनामा कार्यरत रहेको बताइएको छ ।