काठमाडौं । चार कम्युनिष्ट घटक मिलेर बनेको समाजवादी मोर्चाको बैठक सकिएको छ ।
सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो ।
छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरु सहभागी थिए ।
बैठकमा सहभागी भएका नेकपाका महासचिव विप्लवका अनुसार बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको छ । यसका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको छ ।
बैठकबाट बाहिरिँदै विप्लवले आजै साँझ पुन बैठक बस्नेगरी टुंगिएको जानकारी दिए । उनले आफूहरुसँग सरकारले गरेको सम्झौता विपरीत पक्राउपूर्जी जारी भएकोप्रति सरकारको ध्यानाकर्षण गाएको पनि बताए ।
बैठकबाट बाहिरिँदै उनले भने ‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ । पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’
गत असारमा गठन भएको मोर्चाले यसअघि सातै प्रदेशमा सभा आयोजना गरेर मोर्चा गठनको औचित्य बताइसकेको छ। त्यस्तै सबै जिल्ला र पालिका तहसम्म संगठन विस्तार गर्ने उसको लक्ष्य छ।
मोर्चामा माओवादी केन्द्र,जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्।