काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने तर काम नगर्ने कम्पनीको लाइसेन्स खारेज गर्न निर्देशन दिएका छन् ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्रीले जलविद्युत् आयोजनाको लाइसेन्स होल्ड गरेर बस्ने प्रवृत्ति घातक भएकाले लाइसेन्स खारेज गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
प्रधानमन्त्रीले भने, ‘झोलामा खोलाको कुरा धेरै लामो समयदेखि चर्चामा छ। लाइसेन्स लिने, होल्ड गरेर राख्ने तर काम नगर्ने कुरा देशका लागि घातक छ। यहाँ हामी लचिलो हुन जरूरी नै छैन। निश्चित क्राइटएरिया बनाएर त्यसलाई खारेज गर्नुपर्छ।’
प्रधानमन्त्रीले अब अर्को वर्ष नयाँ ढंगले जाने भन्दै राम्रो काम गर्दै गएपछि नराम्रो उद्देश्य बोकेकाहरू पर्दाफास हुने बताए । उनले भने,‘मेरो नेतृत्वको सरकार गठन भएको एकवर्ष पुग्दैछ, अर्को वर्ष हामी नयाँ ढंगले जाँदैछौं” त्यसका लागि हाम्रो सोंच बदलौं, कार्यशैली पनि बदलौं। म गम्भीर ढंगले मन्त्रालयका कुरा सुन्ने, बुझ्ने र परिणाम ल्याउनेमा छु। मैले कार्यशैली परिवर्तन गर्दैछु तपाईहरू के गर्नुहुन्छ ?’
सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमको गुणस्तरीयता र विश्वासनियतामा वृद्धि गर्न आवश्यक गृहकार्य गरिएको बताइन् । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले १० हजार मेगावाट विद्युत् निर्यातको सम्झौता कार्यान्वयनका लागि गम्भीर रूपमा काम गर्न उर्जा मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिए ।