भारतको सूर्य मिशन आदित्य-एल १ जनवरी ६ मा गन्तव्यमा पुग्ने



भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथले भारतको पहिलो सौर्य मिशन आदित्य-एल १ जनवरी ६ मा आफ्नो गन्तव्य लेग्रेन्जियन पोइन्ट (एल १) मा पुग्ने बताएका छन्। यो बिन्दु पृथ्वीबाट १५ लाख किलोमिटर टाढा छ।

एस सोमनाथले शुक्रबार अहमदाबादमा पत्रकारहरूलाई भने, “आदित्य-एल १ जनवरी ६ मा एल १ बिन्दुमा पुग्नेछ। यसको सही समय उपयुक्त समयमा घोषणा गरिनेछ। जब यो एल १ बिन्दुमा पुग्छ हामीले इन्जिनलाई एक पटक फेरि सुरु गर्नुपर्नेछ ताकि यो अगाडि न सरोस्।”


सोमनाथका अनुसार “यस बिन्दुमा पुगेपछि यो वरिपरि घुम्न थाल्छ र एल १ मा अड्किन्छ। त्यसपछि पाँच वर्षसम्म त्यहीँ बसेर तथ्याङ्क सङ्कलन गरिनेछ। यी तथ्याङ्कहरू भारतका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि धेरै महत्त्वपूर्ण हुनेछन्।”

यो मिसन भारतको पहिलो अन्तरिक्ष-आधारित वेधशाला हो। यसअन्तर्गत एल १ बिन्दुबाट सूर्यको अध्ययन गरिनेछ।

इसरोले यस वर्षको सेप्टेम्बर २ मा आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष अनुसन्धान केन्द्रबाट यो मिसन प्रक्षेपण गरेको थियो।