प्रधानमन्त्री आज नवलपरासी जाँदै



रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज पश्चिम नवलपरासीको रामग्राम जाने भएका छन् । रामग्राममा आज हुने कार्यक्रममा सहभागी हुन उनी पश्चिम नवलपरासी जान लागेका हुन् ।

कार्यक्रम बिहान ९ बजे शुरु हुनेछ । मध्यान्ह १२ बजेर १२ मिनेटमा विश्व शान्तिको कामना गर्दै विशेष शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको प्रोमिस ल्यान्डका अध्यक्ष नितेश अधिकारीले बताए ।


प्रधानमन्त्री प्रचण्डसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्थानीय तहका जनप्रतिनिधि लगायतको उपस्थिति रहने छ ।

रामग्राम नगरपालिकाले यस कार्यक्रमलाई मध्यनजर गर्दे नगरभित्र २६ गते मङ्गलवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

एक सूचना जारी गर्दे नगरपालिकाले उक्त दिन सबै वडा कार्यालय, नगरपालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्य संस्था बन्द रहने जनाएको छ । रामग्राम स्तूप गौतमबुद्धको अस्तु राखिएको आठ भागमध्येको एक ठाउँ हो ।

युनेस्को विश्व सम्पदा सूचीको सम्भावित सूचीमा रहेको रामग्राम स्तूपको पुरातात्त्विक अन्वेषण र यसको विकास गर्नका लागि सरकारले गुरुयोजना बनाएर विकास गर्ने बताइरहेको छ ।