तोसिमाले ‘१७ हजार २’ लेखेको प्लेकार्ड देखाएपछि बालुवाटारको चासो



काठमाडौं । सामाजिक सञ्जालमा रास्वपाका सांसद डा तोसिमा कार्कीको एक तस्वीर निकै नै भाइरल भइरहेको छ । कोरियाली भाषा परीक्षा सम्बन्धी विवादमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी कारबाहीमा परी दुई युवाको मृत्यु भएको थियो ।

कोरिया जान पाउँ भन्दै सडकमा उत्रिएका युावहरुको ज्यान गएपछि त्यसको विरोधमा रास्वपाका सांसद कार्कीले अपनाएको विरोध शैलीले बालुवाटारमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सांसद कार्कीका गतिविधि नियन्त्रण गर्न संघीय संसदको ध्यानाकर्षण नै गराएका छन् ।


कार्कीले विरोध प्रदर्शनका क्रममा ‘प्रधानमन्त्रीज्यू १७ हजार प्लस २ भयो त ! अझै कति ???’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
यसबारे प्रधानमन्त्री सचिवालयले चासो राख्दै कार्कीका गतिविधि नियन्त्रण गर्न माग गरेको हो । मल्लले विरोधका नाममा गरेको कार्य राजनैतिक परिवर्तन र शान्ति प्रक्रियाको मर्म र भावनाविपरीत रहेको उल्लेख गर्दै खेद प्रकट गरेका छन् ।

माओवादीले सुरु गरेको १० वर्षे युद्धमा १७ हजार नेपालीले ज्यान गुमाएका थिए । उक्त समयमा १७ हजार नेपाली मारिनुमा माओवादीका आलोचकहरूले प्रचण्डलाई दोष दिँदै आएका छन् ।