तीन न्यायाधीशमाथि छानविन गर्न समिति गठन



काठमाडौं । पछिल्लो समय विवादमा परेका ३ जना न्यायाधीशमाथि छानबिन गर्न जाँजबुझ समिति गठन भएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो ।

समितिमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगाना र तिलप्रसाद श्रेष्ठलाई विज्ञ सदस्य छन् । उक्त समितिले न्याय परिषद् ऐनका दफा १०, ११ र १२ को अधीनमा रही जिल्ला न्यायाधीशहरू राजकुमार कोइराला, अम्बिका निरौला र परशुराम भट्टराईमाथि जाँचबुझ गर्नेछ ।


३ जना न्यायाधीशको सन्दर्भमा विस्तृत रुपमा जाँचबुझ गरी ३० दिनिभत्र राय सहितको प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । समितिले प्रतिवेदन दिएलगत्तै न्याय परिषद्ले कारबाहीसम्बन्धी निर्णय गर्नेछ ।

छानबिनको दायरमा तानिएका न्यायाधीशमध्ये राजकुमार कोइराला व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि रेड जोनमा परेका न्यायाधीश हुन् ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी तामाङलाई धरौटीमा छुटाउन १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि उनीहरु विवादित बनेका थिए । यस्तै, जिल्ला न्यायाधीश अम्बिका निरौला ‘अपहरणकारी’लाई नै सफाइ दिएपछि विवादमा तानिएका थिए ।

अर्का जिल्ला न्यायाधीश पर्शुराम भट्टराई पनि दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको आरोप लागेका अभियुक्तलाई सफाइ दिने फैसला गरेपछि विवादमा तानिएका हुन् ।

धनुषा जिल्ला अदालतमा कार्यरत रहँदा न्यायाधीश भट्टराईले दिनदहाडै गोली प्रहार गरी व्यवसायीको हत्या गरेको घटनाका अभियुक्तलाई सफाइ दिएका थिए ।