काठमाडौं । सभामुख देवराज घिमिरेले संक्रमणकालिन न्यायासम्बन्धी (टीआरसी) विधेयक संघीय संसदको आगामी अधिवेशनबाट पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
शुक्रबार ललितापुरमा सुरु भएको १५ औं मानव अधिकार महाभेलाको उद्घाटन सत्रमा बोल्दै घिमिरे सो कुरा बताएका हुन् । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताएका छन् ।
सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे ।
१० वर्षे सशस्त्र द्धन्द्धसँग सम्बन्धित विभिन्न विषयहरुलाई टुंगोमा पुर्याउन र शान्ति प्रक्रियाका बाँकी कामलाई अन्तिम रुप दिन महत्वपूर्ण मानिएको यो विधेयक पटक पटक संसदमा नै रोकिँदै आएको छ । संदको गत अधिवेशनबाट पारित गर्ने सरकारको तयारी भएपनि संसद्मा रहेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका अन्य प्रतिपक्षी दलले असमति जनाएपछि विधेयक पारित हुन नसकेको हो ।