काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) लाई अघि बढाउन प्रमुख तीन दलका शीर्ष नेताहरु सकारात्मक भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा शीर्ष नेताहरुबीच पीडितमैत्री कानुन बनाउने सहमति बनेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
सङ्क्रमणकालीन न्याय सम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले सोमबार तीन नेताको बैठक बोलाएका थिए । बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र राष्ट्रियसभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी; नेकपा एमालेबाट नेता अग्नि खरेल र संसदीय दलका सचेतक महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुन र नेता खिमलाल देवकोटा सहभागी थिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) मा सहमति जुटाउन आइतबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।