कास्की । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जिबी राईसहित चार जनाविरूद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न प्रहरीले पत्राचार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले राईसहित चार जनाविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र लेखेको डिएसपी श्रवणकुमार विकले जानकारी दिएका हुन् । कास्की प्रहरीले पुस ५ गते पत्राचार गरेको हो ।
कास्की प्रहरीले सूर्यदर्शनका पूर्वअध्यक्षद्वय भूपेन्द्र राई, थानबहादुर बुढामगर र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध जारी गर्न प्रधान कार्यालयको इन्टरपोल शाखालाई अनुरोध गरेको छ । इन्टरपोल शाखाले यस विषयमा थप कागजात तथा विवरण मगाउने तयारी गरेको छ । सबै प्रक्रिया पुगिसकेपछि उक्त शाखाले इन्टरपोललाई अनुरोध गर्ने जनाएको छ ।
यस मुद्दामा जिबी राईसहित १८ जना फरार छन् । उक्त सहकारीका कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाट पक्राउ परेका थिए । अन्य फरार भएका हुन् । जिबी राई ग्यालेक्सी फोर–केका सञ्चालक समेत हुन् । उनीविरूद्ध अरू सहकारीमार्फत् ठगी गरेको समेत आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। उजुरीअनुसार एक अर्ब ११ करोड रुपैयाँ अपचलन गरेको आरोप छ ।