काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । दुबईबाट नेपाल आएका एक यात्रुले ज्याकेटभित्र लुकाएर ल्याएको १४ किलो सुन बरामद भन्सार कार्यालयले गरेको हो ।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डीआइजी अर्जुन चन्द ठकुरीका अनुसार बिहीबार राति ११ः५६ बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका गोरखाका चन्द्र घलेको साथबाट ज्याकेटमा लुकाई ल्याएको अवस्थामा उक्त सुन बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा स्ट्याण्डबाइ बसेको भन्सारको टोलीले घलेले ज्याकेटभित्र सुन राख्न प्रयोग हुने छुट्टै झोला बनाएर भित्री ज्याकेटमा बिस्कुट आकारमा सुन लुकाएर ल्याएको अवस्थामा फेला परेको हो ।
सुन बोकेर ल्याउने चन्द्र घलेसहित सुन किन्ने र ल्याउने कार्यमा संलग्न रहेको आरोपमा गोरखाका मीन बहादुर घलेलाई समेत नियन्त्रणमा लिइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।