काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।
मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।
गए राति भएको मतदानमा राष्ट्रसङ्घका एक सय ९३ वटा सदस्य राष्ट्रमध्ये अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । बेलायतसहित २३ देशले मतदानमा भाग लिएनन् । महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ ।
इजरायलमा अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ । नेपालले जोशीलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताउँदै आएको छ ।