काठमाडौंबाट लुक्ला पुग्दा जहाजको आपतकालीन ढोकाको सिसा नै गायब



काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको पाइएको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज आज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो ।

उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए । उनका अनुसार उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन ।


तर, जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा नभएको पाइएको हो । दुई जना प्यासेन्जर रहेको जहाज सकुसल अवतरण भएको र अवस्था सामान्य रहेको प्रवक्ता झाले बताए ।