कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित



काठमाडौँ । नेपाली कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’ २६ वर्षपछि पुनः प्रकाशित भएको छ । विसं २००४ मा कांग्रेस स्थापना हुनुभन्दा पहिलेदेखि छापिँदै आएको ‘नेपाल पुकार’ विसं २०५४ देखि बन्द रहे पनि अहिले आएर पुनः प्रकाशित भएको हो ।

आइतबार पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पुकारको लोकार्पण गरेका हुन् ।


कांग्रेसले त्रैमासिक रुपमा प्रकाशन गर्न लागेको पहिलो अङ्कमा ‘बीपी साहित्य महोत्सव’ का गतिविधिलाई समेटेर १३२ पृष्ठको  विशेषाङ्क प्रकाशन गरेको छ । पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विसं २०५४ देखि बन्द रहेको नेपाल पुकारलाई त्रैमासिक रुपमा प्रकाशन गर्नेगरी पुनः प्रकाशनमा ल्याइएको जानकारी दिए ।

विसं २००४ देखि मासिक, पाक्षिक र साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको उक्त पत्रिका विसं २०५४ देखि भने पूर्ण रुपमा बन्द रहेको थियो । आगामी दिनमा उक्त पत्रिकालाई विचार प्रदान पत्रिकाका रुपमा प्रकाशन गरिने बताइएको छ ।