काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार केही समयमा आफैँ ढल्ने दाबी गरेका छन् ।
समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत डडेलधुरामा शुक्रबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले ‘प्रचण्ड’ सरकार गठबन्धनको छेस्काले अड्याएको र त्याे केहि समयमा आफैँ ढल्ने दाबी गरेका हुन्।
उनले भने, ‘हामीले अहिले मिसन ८४ भनिरहेका छौँ । यहीबीचमा यो सरकार कसैले ढाल्नुपर्दैन, हल्लिराखेको छ । तर, हामी पूर्वदेखि पश्चिमसम्मको तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफैँ ढल्न पनि सक्छ कुनै समय । यो गठबन्धनको छेस्का अड्याएको सरकार हो । यसको कुनै सिद्धान्त, नीति, योजना र कार्यक्रम छैन ।’
सरकार माओवादी नीति ‘प्रचण्ड’ पथमा हिँड्न खोजेको ओलीले टिप्पणी गरे । उनले भने, ‘काँग्रेस ‘प्रचण्ड’पथको भरिया बनेको छ । आफ्नै मान्छेलाई मुद्दा लगाएर थुन्दिएको छ । हो, होइन अदालतले भन्ला ।’
उनले नेपाली जनताका बीचमा द्वन्द्व मच्चाउन खोज्नेहरूले सक्रिय भएर आतङ्ककारी गतिविधि गरिरहेको पनि आरोप लगाए । चिहानबाट राजतन्त्र फर्काउन भूतप्रेतवादी तत्त्व सलबलाएको ओलीको टिप्पणी छ ।
उनले भने, ‘सत्ता गठबन्धन र गठबन्धनका नेताहरू सत्ता स्वार्थ, सरकार जोगाउने, मन्त्री जोगाउने, कसरी मन्त्री हुने, कसले बढी कमाउने, कसले बढी आफन्त पोस्ने धन्दामा लागिरहेका छन् ।’