एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न अदालतको आदेश



काठमाडौँ । एनसेलको सेयर खरिद विक्री भएको सम्बन्धमा अभिलेखीकरण नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । विपक्षी बनाइएका कम्पनी रजिष्ट्रारको कार्यालयको नाममा सेयरको अभिलेखीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


उच्च अदालत पाटनको यो आदेशसँगै एनसेलको सेयर बिक्री भइसकेको भए पनि अब तत्कालै सेयर नामसारी नहुने भएको छ ।

अदालतले एनसेल सम्बन्धीको अघिल्लो रिटमा २५ गतेका लागि छलफलमा बोलाएको छ । “जे अवस्थामा छ, त्यही अवस्थामा राख्नू प्रक्रिया अघि थप प्रक्रिया अघि नबढाउनू अदालतले जारी गरेको आदेशमा भनिएको छ ।

आजियाटाले आफ्नो नाममा रहेका ८० प्रतिशत सेयर बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको थियो । त्यसक्रममा उसले न्यूनतम मूल्य निर्धारण गरेर अर्बौंको करछली गर्ने षड्यन्त्र गरेको दाबीसहित बाजुराका गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

सरकारले पनि आजै एनसेलको सेयर खरिद बिक्रीबारे सत्यतथ्य छानबिन गर्न ५ सदस्यीय छानबिन समिति बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व महालेखापरीक्षक टंकमणि शर्मा दंगालको नेतृत्वमा समिति बनाएको हो । उक्त समितिलाई ३० दिनभित्रमा आफ्नो प्रतिवेदन पेश गर्न भनिएको छ ।

1
2