इजरायलले भन्यो- विश्वव्यापी समर्थन होस् वा नहोस् गाजामा युद्ध जारी रहनेछ



इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास आतंकवाद विरुद्धको इजरायलको लडाईलाई कसैले रोक्न नसक्ने बताएका छन। उनले यो लडाइँलाई ‘वैश्विक दबाब’ले पनि रोक्न नसक्ने बताए ।

सामाजिक सञ्जाल प्लेटफर्ममा एक भिडियो साझा गरेर नेतान्याहुले यस्तो बताएका हुन् ।


उनले भने- “मैले क्षेत्रका कमाण्डरहरूलाई के भनेको छु, म स्पष्ट रूपमा भन्न चाहन्छु- हामी यो लडाई अन्तिम सम्म जारी राख्नेछौं र यसमा कुनै प्रश्न छैन। म हाम्रा सिपाहीहरू गुमाउनुको ठूलो पीडा र अन्तर्राष्ट्रिय दबाबको बावजुद भन्छु हामीलाई कुनै पनि कुराले रोक्न सक्दैन, हामी अन्त्यसम्म लड्नेछौं र जित्नेछौं।”

यसअघि गाजामा संयुक्त राष्ट्रसंघको महासभामा युद्धविरामको प्रस्ताव पारित भएको छ । यस अवसरमा इजरायलका विदेशमन्त्री एली कोहेनले यो युद्ध ‘विश्वव्यापी दबाब’ र “विश्वव्यापी दबाब बिना” दुबै परिस्थितिमा जारी रहने बताए।

उनले भने- “वर्तमान चरणमा युद्धविराम आतंकवादी संगठन हमासको लागि उपहार हो, यदि युद्ध रोकियो भने हमास फर्कनेछ र इजरायलीहरूमाथि खतरा फेरि बढ्नेछ। ”

भर्खरै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोष संकलनको कार्यक्रममा इजरायलले गाजामा अन्धाधुन्ध बमबारी गरेर विश्वको समर्थन गुमाउने बताएका थिए ।