काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा उनका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । बुधबार न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै, आरती साहका ससुरासँग एक लाख रूपैयाँ धरौटी माग गरिएको छ । यसअघि उच्च अदालत जनकपुरले आरती साहका ससुरा र श्रीमानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीहरु दुवै जना थुनाबाहिर थिए । आरती साहको परिवारले भने न्याय माग्दै माइतीघर मण्डलामा धर्नामा बसेको थियो ।
गत ७ जेठमा आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको माइती पक्षले हत्या भएको भन्दै अदालतमा जाहेरी दिएका थिए ।