काठमाडौं । सरकारले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी बनाउन सिफारिस भएपछि उनको उमेरको विवादमा परेका थिए । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । उनको कात्तिक २४ गतेबाट लागु हुने गरी अघिल्लो मन्त्रिपरिषद् बैठकले राजीनामा स्वीकृत गरेको थियो ।
पाण्डेले राजीनामा दिएपछि प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार बढुवाका लागि सिग्देललाई सिफारिस गरेका थिए । सैनिक मुख्यालयमा शुक्रबार रथी सिताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देललाई रथी पदमा बढुवाका लागि सिफारिस गरेको थियो ।