काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण थुनामुक्त भएका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेसँगै खाँण थुनामुक्त भएका हुन् ।
त्यसअघि खाँणले जिल्ला अदालत काठमाडौंलाई ३० लाख र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई १५ लाख धरौटी बुझाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण गत वैशाख २७ गते पक्राउ परेका थिए। सरकारले उनीविरुद्ध ठगी लिखत किर्ते राज्य विरूद्धको र संगठित अपराधको मुद्दा दायर गरेको छ ।
अदालतमा धरौटी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग उपस्थित गराइएको थियो। विभागले १५ लाख धरौटी मागेको थियो। त्यहाँ जग्गा धितो राखेर खाँणले बैंक ग्यारेण्टी पेश गरेका थिए ।
त्यसपछि उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग उपस्थित गराइएको थियो। अख्तियारले खाँणलाई साधारण तारेखमा छाडेको छ। अख्तियारले साधारण तारेखमा छोडेसँगै खाँण थुनामुक्त भएका हुन् ।