११ किलो सुन तस्करी प्रकरण : ३ जना धरौटीमा रिहा



काठमाडौं । चीनबाट दोलखा हुँदै तस्करी गरिएको ११ किलो सुन प्रकरणमा पक्राउ परेका मध्ये ३ जना धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत दोलखाका न्यायाधीश डिल्लीरत्न श्रेष्ठले शुक्रबार सुन तस्करी प्रकरणमा पक्राउ परेका मध्ये तीन जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।

९ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रहरीले दोलाखाबाट दुइ पटक असोज १२ गते ३ किलो र असोज १० गते ४ किलो गरी ७ किलो सुन बरामद गरेको थियो । सोही सुन तस्तरीको अनुसन्धान गर्ने क्रममा प्रहरीले थप ४ किलो सुन बरामत गरेको थियो ।


आलुको बोरामा सुन लुकाएर तस्करी गर्दै गर्दा दोलखा प्रहरीले बिगु गाउँपालिका–१ लमाबगरबाट ४ किलो, जामुने भन्ने ठाउँबाट ३ किलो र सुनसँगै पक्राउ परेकाहरुको वयानको आधारमा लामाबगरमा ढुंगा मुनि लुकाएको अवस्थामा थप ४ किलो गरी जम्मा ११ किलो सुन बरामद भएको थियो ।

उक्त प्रकरणमा अनुसन्धान गरी २६ जनाविरुद्ध मुदा दायर भएको थियो । चिनियाँ नागरिकसँग मिलेर सुन तस्करीमा संलग्न महिमा माझीबाट १ करोड ७९ लाख ४० हजार रुपैयाँ, दीपेन्द्रराज शाक्यबाट ९३ लाख ५० हजार रुपैयाँ र तिलक विकबाट ८८ लाख रुपैयाँ धरौटी लिन अदालतले आदेश दिएको छ ।

महिमा विरुद्ध ३१ करोड ११ लाख ७० हजार ४४६ रुपैयाँ १५ पैसा विगो तथा दिपेन्द्र शाक्य र तिलक विकविरुद्ध २० करोड ७४ लाख ४६ हजार ९६४ रुपैयाँ १० पैसा विगो कायम गरी मुद्दा दायर भएको थियो ।

यही समूहका दावा भन्ने आकार लामा, टासी भन्ने गेङ्रु, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लालबहादुर तामाङ, केशर तामाङ र माधव कुमार मगरलाई थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय पठाइदिन अदालतको आदेश छ ।