सोमालियाली सेनाको कारबाहीमा अल–शबाबका ६० लडाकूको मृत्यु



सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकू मारिएका छन् ।

झडपमा कैयौँ घाइते भएका छन् । सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकू र उनीहरूका कमान्डरलाई लक्षित गरी उक्त कारबाही गरिएको हो ।’


मन्त्रालयले भनेको छ, ‘सोमालियाली सेना र अन्तर्राष्ट्रिय साझेदारहरूले त्यस क्षेत्रमा धेरै आतङ्कवादी अखडा र हतियारहरू पनि नष्ट गरेका छन् । सेनाले अझै पनि घटनास्थलबाट भागेका आतङ्ककारीहरूको खोजी गरिरहेको छ ।’

अल–शबाब समूहले पछिल्लो सैन्य कारबाहीबारे कुनै टिप्पणी गरेको छैन । सोमालियास्थित अफ्रिकी सङ्घ मिसनको सहयोगमा सोमालियाली सरकारी सेनाले सन् २०११ मा अल–शबाबलाई मोगादिशुबाट लखेटेको थियो ।

यद्यपि, आतङ्कवादी समूह अझै पनि सरकारी प्रतिष्ठान, होटल, रेस्टुरेन्ट र सार्वजनिक स्थललाई लक्षित गरी आक्रमण गर्न सक्षम छ ।