काठमाडौं । सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई सचिवमा बढुवा गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले परराष्ट्रतर्फ रिक्त एक सचिव पदका लागि सहसचिव लम्सालको एकल नाम सिफारिस गरेको थियो । बढुवासँगै लम्सालको परराष्ट्र मन्त्रालयको सचिवमा पदस्थापन पनि भएको छ ।
मन्त्रालयका सचिव भरतराज पौड्याल राजदूतमा सिफारिससँगै गत साता अनिवार्य अवकाशमा गएसँगै रिक्त भएको मन्त्रालयको सचिव पदमा सहसचिव लम्सालको नाम मात्रै सिफारिस भएको थियो । यससँगै सचिव लम्सालले परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिवको इतिहास रचेकी छन् ।
नेपालको परराष्ट्र मन्त्रालयको ७२ वर्षको इतिहाँसमा लम्साल पहिलो महिला सचिव हुन् । हालसम्म नेपालबाट साहना प्रधान, सुजता कोइराला र डा विमला राई पौड्याल गरी तीन जना महिला मन्त्री बन्दा सचिव भने पहिलो पटक पाएको हो ।
२०५५ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी लम्सालको सेवा अवधि २५ वर्ष पुग्नै लाग्दा परराष्ट्र सचिवको पदमा पुगेकी छन् ।
विसं २०७३ देखि २०७७ सालसम्म पाकिस्तानका लागि नेपाली राजदूत भएकी सेवाले इरान, टर्की, कीर्गिस्तान, ताजकिस्तान, तुर्केमिनिस्तान र उज्वेकिस्तानको समेत राजदूतको जिम्मेवारी सम्हालेकी थिइन् ।