सिरुघारीमा मानव कङ्काल फेला



नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ बरौलीस्थित सिरुघारीमा मानव कङ्काल फेला परेको छ ।

मुस्कान होटल पछाडिको खेतमा रहेको शिरुको झाडीमा मानव कङ्काल फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक साजनकुमार शर्माले जानकारी दिए । 


कङ्कालको माथि सेतो धर्का परेको सर्ट र तल कालो कपडा बेरिएको अवस्थामा बुधबार फेला परेको उनले बताए । सो कङ्काल महिला वा पुरुषको हो भन्नेसमेत पहिचान हुन नसके पनि सर्टको खल्तीमा लाइटर र नजिकमा चप्पलसमेत भेटिएकाले उक्त कङ्काल पुरुषको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको सूचना अधिकारी शर्माको भनाइ थियो । 

फेला परेको कङ्काल हत्या गरेर फालिएको वा  आत्महत्या भन्ने यकिन हुन सकेको छैन । जङ्गलभित्र रहेको उक्त होटल पछिल्लो सात आठ महिनादेखि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । यहाँ आवतजावत कम हुने भएकाले घटना लामो समयपछि बाहिरिएको हो । 

घटनास्थल नजिक रहेको रुखमा डोरी भेटिएको र सोही डोरीबाट शव खसेपछि कुकुर वा स्यालले तानेर अन्यत्र लगेकाले स्थानीयवासीले थाहा पाएको हुनसक्ने प्रमरम्भिक अनुसन्धानबाट खुलेको छ । कङ्काल अहिले मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको तथा डिएनए परीक्षणका लागि काठमाडौँ पठाइने सूचना अधिकारी शर्माले जानकारी दिए ।