बागलुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असफल भएको बताएका छन् । बिहीबार बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार असफल मात्र नभइ चरम असफल सरकार भएको र राजीनामा दिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘गैरजिम्मेवार र इमान नभएर सरकारमा बसेको छ । नत्र राजीनामा गरेर घर जानुपर्ने हो। लाज नमानेर र लाज नभएर कसरी बसिराखेको छ सरकारमा अच्चम लाग्दो छ।’
अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनतामा निराशा बढ्दो रहेको बताए । कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको भन्दै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमा बसेको छ भन्दै प्रश्न गरे ।
उनले वर्तमान सरकारले राष्ट्रघाती काम गर्ने, देशको इज्जत समाप्त पार्ने, स्वाधीनता कमजोर पार्ने मात्र काम गरेको बताए । वर्तमान सरकारसँग कता जाने भन्ने गन्तव्य नै नभएकोले जनतामा निराशा पैदा भएको अध्यक्ष ओलीको भनाई छ। अध्यक्ष ओलीले समृद्धिको लागि संकल्प यात्राको क्रममा बाटोमा जनता उत्साहित र हर्षोल्लासपूर्ण पाएको बताए ।