काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
नेपाल नागरिक उड्ययन प्राधिकरणको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा नीति नियम बनाउने काम प्रधानमन्त्री र सरकारको भएको भन्दै सरकारको काममा हस्तक्षेप नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् ।
उनले नेपाल वायुसेवा निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ को विषय कर्मचारीको नभइ सरकारको भएकाले यसमा अनावश्यक टिकाटिप्पणी नगर्न पनि कर्मचारीहरुलाई चेतावनी दिए । उनले नेतृत्वमा रहेकाले बनाएको नीतिमा कर्मचारीहरु हिँड्न सक्नुपर्ने उल्लेख गरे ।
ग्राउन्ड ह्यान्डलिङको विषयमा आवश्यक परे राष्ट्रिय सहमति नै आवश्यक पर्ने उनको भनाइ छ । मन्त्री किरातीले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने, हवाई सेवा यात्रुमैत्री बनाउन ध्यान केन्द्रीत रहेको बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थलहरुको सञ्चालनका लागि पीपीपी मोडलबाट अघि बढाइने धारणा राखे ।
कार्यक्रममा प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले नेपालको बायुसेवालाई बलियो बनाउन सबी पक्षबीच सहकार्य आवश्यक रहेको बताए । उनले आफूले व्यक्तिका लागि नभइ संस्थाका लागि काम गर्दा आएका आलोचनाहरुलाई सहज रुपमा लिने जिकिर गरे ।
कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।