वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णयविरुद्ध सर्वोच्च पुगे पौडेल



काठमाडौं । वीर अस्पतालको कार्यकारी निर्देशकबाट बिना कारण हटाइएको भन्दै डा.सन्तोष पौडेल सर्वोच्च पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै पौडेललाई निर्देशकबाट हटाएर मन्त्रालयमा तानेका थिए । तर, पौडेलले भने राजनीतिक आस्थाकै आधारमा मन्त्री बस्नेतले प्रतिशोध साँधेको भन्दै आक्रोश व्यक्त गर्दै आएका छन् ।


उनी निकट स्रोतका अनुसार उनले आज सर्वोच्चमा मन्त्री बस्नेतको निर्णय बदर गर्न माग गर्दै आज रिट दायर गरेका हुन् । उनले रिटमा मन्त्री बस्नेतले आफूलाई मन्त्रालयमा हाजिर हुन पठाएको आदेश खारेज गर्न र अस्पतालमा पुर्नवाहली गर्न आदेश माग गरेका छन् ।

पौडेललाई तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले वीर अस्पतालको निर्देशकमा नियुक्त गरेका थिए । तर, उनी एमालेको संगठनमा क्रियाशील रहेको उजुरी निर्वाचन आयोगमा परेपछि मन्त्रालयमा तानिएका थिए ।

स्वास्यमन्त्री बस्नेतले भने सोमबार अर्को व्यवस्था नभएसम्मका लागि डा श्रवनकुमार थापालाई निमित्तको जिम्मेवारी दिएका थिए ।