राष्ट्रि सभा निर्वाचनः प्रस्तावित उम्मेदवारको नाम पठाउन माओवादी केन्द्रको निर्देशन



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रस्तावित उम्मेदवारको नाम पठाउन मातहतका कमिटीहरुलाई निर्देशन जारी गरेको छ । माओवादी केन्द्रले मातहतका कमिटीहरुलाई सर्कूलर पठाउँदै संस्थागत रुपमा प्राथामिकताको आधारमा बढिमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउन भनेको हो ।

सर्कूलरमा सिफारिस पठाउँदा प्रदेश कमिटी र जनवर्गीय संगठनहरुलाई एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी प्रतावित नाम पठाउन भनेको छ ।


राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सत्ता गठनबन्धनमा रहेका दलहरु राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने तयारीमा छन् । सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा १० सिटको दाबी गरिरहेको छ ।

त्यसैगरी माओवादी केन्द्रले भने ५ सिटमा दाबी गर्ने बताईएको छ । त्यसैगरी सत्ता गठबन्धनमा रहेका नेकपा (एकीकृत समाजवाद) ले ३ सिट, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको १/१ सिटमा दाबी गर्ने तयारी छ । यसरी सत्ता गठबन्धनमा रहेका दलहरुलाई मिलाएर राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुँदैगर्दा कांग्रेस र माओवादीले दाबी गरेको भन्दा कम सिट पाउने निश्चित छ ।