काठमाडौँ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको तालिका सार्बजनिक गरेको छ ।
आयोगले सार्बजनिक गरेको निर्वाचन तालिका अनुसार यही मंसिर २४ गतेदेखि २९ गतेसम्म निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ता हुने भएको छ । यसका लागि आयोगले मङ्सिर २२ गते सूचना प्रकाशन गर्ने जनाएको छ । राजनीतिक दल दर्ता भए पश्चात पुष १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरी पुष ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाउने आयोगले जनाएको छ ।
स्वीकृत कार्यतालिका अनुसार पुष १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै पुष २० गतेदेखि २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । त्यस्तै माघ ११ गते विहान ९: ०० बजेदेखि अपरान्ह ३: ०० बजेसम्म मतदानको कार्य सञ्चालन हुने तालिका रहेको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुने गर्दछन् । आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरेको छ ।