मौलिक कला जोगाउनुपर्छ : संस्कृतिमन्त्री किराती



काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ऑ प्राज्ञसभाको उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताए । उनले भने, “कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ ।” 


प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गधिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए । 

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै प्रतिस्थानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताए ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले कला, संस्कृति सङ्गीत तथा नाट्य क्षेत्रको विकासमा प्रतिष्ठानहरु लाग्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तरराष्ट्रिय कलासम्मेलन आयोजना गर्न सुझाव दिए ।