मुख्यमन्त्री कार्कीद्वारा बुधबारे सडकको शिलान्यास



मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किमी लम्बाइको मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गरेका छन् ।

पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गरेका हुन् ।


पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले बताए ।

उनले सडक निर्माणपछि यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे ।

अब अन्य आयोजनाको छनोट गरेर आवश्यकता आधारमा निर्माण हुने जनाउँदै मुख्यमन्त्री कार्कीले सुनिश्चिततासहित योजना छनोट हुने उनको भनाई छ ।

सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड तीन लाख ५३ हजार २७ मा ठेक्का सम्झौता गरेको छ ।