माओवादी नेतृत्वको सरकार फेर्नैपर्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माओवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन गर्नुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले माओवादी नेतृत्वको सरकारले जनताका समस्या समाधान गर्न नसकेको टिप्पणी गरे ।


सरकारले जनतामा आशा जगाउनसमेत नसकेको उनको टिप्पणी छ । कांग्रेस नेतृत्वको सरकारले मात्रै देशमा विद्यमान समस्या समाधान गर्ने नेता कोइरालाले दाबी गरे ।

उनले भने, ‘सरकारसँग जनता निराश भएका छन् । जताततै बेथिति मौलाएको छ, भ्रष्टाचार बढेको छ, जतिसक्दो चाँडो सरकार परिवर्तन गर्नुपर्छ र सरकारको नेतृत्व कांग्रेसले लिनुपर्छ । अहिलेको नेतृत्वबाट देशले निकास पाउँदैन ।’

नेता कोइरालाले आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक अराजकतातर्फ देश उन्मुख भएको बताए ।

अर्को प्रसंगमा आफ्नो समूहमा संसदीय दलको नेता परिवर्तनको आवाज उठेको बताउँदै नेता कोइरालाले भने, ‘लोकतन्त्रमा अंकको खेल हुन्छ । हामीसित दलको नेता फेर्ने संख्या छैन ।’

नेता कोइरालाले कोसी प्रदेशमा देखिएको विवाद वार्ता र संवादबाट टुंगो लगाउनुपर्नेमा जोड दिए । पहिचानवादीहरूसित वार्ताको टेबलमा बसेर विवाद मिलाउन उनले सुझाए । उनले भने, ‘कोसी नामका विषयमा विवाद छ । त्यसलाई असन्तुष्ट पक्षसित बसेर समाधान गर्नुपर्छ ।’